काठमाडौं-धरानमा विभिन्न १० राजनीतिक दलको आन्दोलनपछि खानेपानीको महसुल वृद्धि तत्कालका लागि स्थगन गरिएको छ ।
आन्दोलनरत विभिन्न १० राजनीतिक दल र धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङबीच महसुल वृद्धि स्थगनलगायतका ३ बुँदे सहमति भएको हो । तीन सातादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र नगरप्रमुख साम्पाङबीच आइतबार ६ घण्टा लामो वार्तापछि सहमति भएको हो । सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।
दुवै पक्षबीच खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।
दिउँसो साढे २ बजेदेखि सुरु वार्ता रातिसम्म पनि सहमति नहुने संकेत देखिएपछि उपमहानगर कार्यालय बाहिर धर्नामा बसेका उपभोक्ता तथा राजनीतिक दलका कार्यकर्ताहरूले वार्ता टोलीलाई भित्रै थुन्ने तयारी गरेका थिए । त्यसपछि दबाबमा परेका वार्ताकर्ताहरु सहमति गर्न बाध्य भएका थिए।
साउन ११ गते धरानमा क्रियाशील राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरिएपछि आन्दोलनर गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।