काठमाडौँ-भारतले नेपालले निर्माण गरेको ‘मुनाल’ भूउपग्रह प्रक्षेपणका लागि सघाउने भएको छ ।
भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) ले शनिबार मुनाल भूउपग्रह प्रक्षेपण गर्न अनुदान सहयोगका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा आभास मास्केको समेत उपस्थिति रहेको थियो । ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सम्झौताबारे जानकारी दिँदै दुई देशबीचको अन्तरिक्ष सहयोगमा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताएका हुन् ।
सम्झौता अनुसार नास्टको आयोजनामा नेपालमा विकसित गरिएको भूउपग्रहलाई एनएसआईएलको पोलार स्याटेलाइट लन्च भेहिकलमा नि:शुल्क रूपमा प्रक्षेपण गरिने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।