काठमाडौँ-सरकारले दुई सहसचिवलाई सचिवमा र नेपाल प्रहरीका नायव महानिरीक्षक(डिआइजी) रामदत्त जोशीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले सहसचिवहरु अरुणचन्द्र श्रेष्ठ र परासर ढुङ्गानालाई सचिव पदमा बढुवा गरेको हो ।
नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका (सहसचिव) अरुणचन्द्र श्रेष्ठलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा सचिव पदमा बढुवा गर्दै उनलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको हो । सचिवमा बढुवा भएका परासर ढुङ्गानालाई नेपाल कानुन आयोगमा पदस्थापना गरिएको छ ।
यस्तै नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपथ प्रहरीतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा सरुवा गरिएको छ भने अनुसन्धान ब्युरो लाजिम्पाटबाट श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ । यसैगरी नेपाल प्रहरी प्रधान कार्यालयबाट किरण बज्राचार्यलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।