काठमाडौं-बंगलादेशमा आन्दोलनलत पक्षले अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनीहरुले अन्तरिम सरकारको खाकासमेत तयार पार्दै युनुसको प्रस्ताव गरेका हुन् ।
आज बिहान सवा चार बजे जारी गरिएको एक भिडियो सन्देशमा आन्दोलनका संयोजकहरु नहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदारले अबको २४ घण्टाभित्र अन्तरिम सरकारको पूर्ण खाका तयार पारिने बताएका हुन् ।
बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पद त्याग गरेर देश छाडिसकेपछि पनि रातभर प्रदर्शन र हिंसा जारी रहेका कारण आन्दोलनका संयोजकहरुले राति नै नयाँ अन्तरिम सरकारबारे आफ्नो धारणा राखेका हुन् । यसअघी हिजो राति नै राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकार बनाउन आफ्नो अनुमति जनाएका थिए ।
सेना, नेभी, एयर फोर्स, विभिन्न राजनीतिक पार्टी र समाजका प्रतिनिधिहरुसँग गरिएको छलफलपछि राष्ट्रपति भवनमा सो निर्णय लिइएको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । शेख हसिनाले देश छाडे पश्चात प्रदर्शन झनै उग्र भएको अवस्थामा शान्ति, सुरक्षा र कानुनको पालना गराउने जिम्मेवारी हालका लागि सेनालाई दिइएको छ ।
हसिना विदेश पलायन भएको केही घण्टापछि नै राष्ट्रपति शाहबुद्दीनले जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालेदा जिआ र विरोधका क्रममा थुनिएका सम्पूर्ण विद्यार्थीहरुलाई रिहा गर्न आदेश दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।