काठमाडौं– रंगेहात मुद्दामा साक्षी बनेका दुई जनाले अदालतमा बयान फेरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साक्षीविरुद्ध नै मुद्दा दायर गरेको छ।
शुक्रबार आयोगले साक्षी बसेका दुई जना पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरु रंगेहात मुद्दामा साक्षीका रुपमा अदालतमा पेस गरिएका थिए। तर उनीहरुले अदालतमा बयान परिवर्तन गरे। त्यसपछि आयोगले उनीहरुविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले २० बैशाख, २०८१ मा पोखरा महानगरपालिकाका दुई इञ्जिनियर सहित ३ जनामाथि घुस लेनदेन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो। अख्तियारले महानगरको नक्सा शाखामा कार्यरत सब–इञ्जिनियर उषाकिरण रोकाया, इञ्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवर विरुद्ध मुद्दा दायर गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले रोकाया र कुँवरलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा चैत २८ गते पक्राउ गरेको थियो भने अनुसन्धानका आधारमा संलग्नता देखिएपछि इन्जिनियर बराल वैशाख ४ गते पक्राउ परेका थिए।
त्यही घटनामा संलग्न भएपछि अख्तियारले केशव प्रसाद तिवारी र उर्मिला पौडेललाई मुद्दा नचलाई सरकारी साक्षीको रुपमा अदालतमा पेश गरेको थियो। तर विशेष अदालतमा उपस्थित भएका उनीहरुले उल्टो बकपत्र गरेको भनी उनीहरुमाथि समेत मुद्दा चलाएको हो।
सरकारी साक्षीले उल्टो बकपत्र गरेमा वा अख्तियारको प्रतिकुलमा बकपत्र गरेमा उसलाई दिएको सजाय छुटको मागदावी उल्ट्याएर मुद्दा चलाउने अभ्यास छ। अब उनीहरुले पनि भ्रष्टाचारको आरोप सामना गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।