काठमाडौँ-पछिल्लो १२ घण्टामा उपत्यकासहित देशभर वर्षा भएको तथा विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बल्खुखोलाको जलसतहले सतर्कताको तहनजिक पुगेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।