काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग आज चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। भेटका क्रममा आपसी सहकार्य सम्भावनाका क्षेत्रका विषयमा कुराकानी भएको थियो।
सोहीक्रममा उपप्रमुख डंगोलले आपसी सहकार्यका क्षेत्र धेरै देखिएको बताउँदै कुनै एक क्षेत्रबाट सहकार्य थालनी गरेर दिगो बनाउँदै लैजानुपर्ने बताइन्। सिपिपिसिसीका उपाध्यक्ष युहुनले भगिनी सम्बन्ध स्थापना, शैक्षिक सुधार, व्यापारिक तथा वाणिज्य सम्बन्ध आपसी कार्यक्रम हुने बताएपछि उपप्रमुख डंगोलले यस्तो धारणा राखेकी छन्।
‘५० वर्गकिलोमिटर क्षेत्रभित्र विश्व सम्पदा क्षेत्रमा सूचीकृत ४ वटा स्थल हुनु, यी हरेक स्थलहरु पैदल दुरीमा हुनु काठमाडौँको सांस्कृतिक पहिचान हो।’ उपप्रमुखले भनिन्, ‘सामुदायिक शिक्षामा हामीले संघ सरकारको भन्दा धेरै लगानी गरेका छौँ। स्थानीय उत्पादन प्रवर्धन गर्न पेय पदार्थ ‘ऐला ब्राण्डिङ्’ गर्दैछौँ। महिला क्षमता विकासका लागि ‘एक वडा एक उद्यम कार्यक्रम’ चलाएका छौँ। हस्तकलाका सामान उत्पादनलाई प्रोत्साहित गरेका छौँ। यी क्षेत्रको विकास, प्रवर्धन र व्यवस्थापनमा आपसी ज्ञान, सिप र क्षमताका लागि सहकार्य गर्न हामी सकारात्मक छौँ।’
त्यसक्रममा उपाध्यक्ष युहुनले काठमाडौं महानगरपालिकासँग चीनको मध्य क्षेत्रबाट हुवेइ नगरको भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताइन्। ‘चीनका ७ वटा सहरसँग महानगरपालिकाको भगिनी सम्बन्ध छ। मध्य क्षेत्रसँग बाँकी छ,’ उनले भनिन् ‘हामी औपचारिक सम्बन्धबाट हाम्रा असल अभ्यासहरु बाँड्न चाहन्छौँ।’
त्यस क्रममा विद्यार्थी र शिक्षक आदानप्रदान गरेर आपसी शैक्षिक सुधारमा क्षमता र सिकाइ विकास गर्ने, व्यापारिक तथा वाणिज्य मेलामा आपसी सहभागिता जनाउने विषयमा छलफल भएको थियो।
भेटका क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन विभागका प्रमुख दिपक अधिकारी, वित्त विभागका प्रमुख डा. शिवराज अधिकारी, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय र उपप्रमुखको सचिवालयका प्रमुखसहित अधिकारीहरु सहभागी थिए।
हुवेइको प्रान्तीय राजधानी वुहान हो। यो यातायातसँगै मध्य चीनको राजनीतिक, सांस्कृतिक र व्यापारिक स्थलका रुपमा परिचित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।