काठमाडौँ- नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने बताएका छन्।
इजिप्टको राष्ट्रिय दिवसका अवसरमा मंगलबार आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नति हुन नेपाललाई सघाउने बताए ।
नेपालको आर्थिक–सामाजिक प्रगति एवं राजनीतिक स्थायित्व इजिप्टको चाहना भएको बताउँदै उनले असंलग्न आन्दोलन (नाम), जी–७७ संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा इजिप्ट र नेपालबीच साझा चासोका विषयमा सहकार्य हुँदै आएको उल्लेख गरे ।
जलवायु परिवर्तनलगायत आपसी हितका विषयमा पनि इजिप्ट र नेपालबीच साझेदारी रहेको बताउँदै राजदूत एलगेब्लीले नामको संस्थापक सदस्य नेपाल इजिप्टको निकटको मित्र भएको बताए । सन् १९५७ मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको चर्चा गर्दै उनले इजिप्टका पिरामिड र नेपालको सगरमाथा विश्वभरका पर्यटकका निम्ति आकर्षणका केन्द्र बनेका बताए ।
नेपालसँग सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुक इजिप्टले तीन सयजना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर दिएको उल्लेख गर्दै भविष्यमा छात्रवृत्तिका कोटा बढाउन आफू प्रतिबद्ध रहेको बताए । दुई देशबीचको परामर्श संयन्त्रले चाँडै त्यस सम्बन्धमा निर्णय गर्ने जानकारी पनि उनले दिए । आर्थिक साझेदारी, लगानी एवं व्यापारका क्षेत्रमा भने दुई देशले अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।