एजेन्सी- अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले पदबाट राजीनामा दिएकी छन् । संसदीय समितिमा सांसदहरुको दबाबपछि उनले राजीनामा दिएकी हुन् ।
चिटलले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्न आफ्नो एजेन्सी असफल भएको स्वीकार गरेकी थिइन् ।
जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको सामना गर्नुपरिरहेको थियो ।
हाउस अफ रिप्रेजेन्टेटिभका रिपब्लिकन अध्यक्ष माइक जोनसनले पत्रकारसँग भने, 'यो धेरै ढिलो भएको छ, उहाँले यो काम कम्तीमा एक साता अघि गर्नुपर्ने थियो, उहाँले रिपब्लिकन र डेमोक्रेट दुवैको आह्वानलाई ध्यान दिनुभएकामा मलाई खुशी लागेको छ ।'
चिटलले सोमबार संसदीय समितिसमक्ष ट्रम्पको हत्या प्रयास ‘दशकौँमा सिक्रेट सर्भिसको सबैभन्दा महत्त्वपूर्ण परिचालन असफलता थियो’ भनेकी थिइन्। २७ वर्षसम्म सिक्रेट सर्भिस एजेन्टका रूपमा काम गरेकी चिटललाई राष्ट्रपति बाइडेनले एजेन्सी प्रमुखमा नियुक्त गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।