नारायणगढ (चितवन)– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमापर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा आज दुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला परेको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा बुढो उमेरको देखिने पोथी गैँडा मृत फेला परेको हो।
मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिनुभयो। उहाँले मृत गैँडाको शरीरमा चोटपट तथा घटनास्थलमा कुनै शङ्कास्पद वस्तु नभेटिएको हुँदा बुढो भएर कालगतीले मरेको हुनसक्ने बताए।
निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने उनले बताए। उनले भने, ‘हामीले सरसर्ती हेर्दा शरीरमा कुनै चोटपटक देखिएको छैन। बुढो भएर मरेको हुनसक्ने अनुमान गरेका छौँ। मृत्युबारे पोस्टमार्टम गरेपछि मात्र थाहा हुन्छ।’ यसबारे अन्य अनुसन्धान भइरहेको उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।