वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा दोहोर्याएर उम्मेदवारी नदिने निर्णय गरेका छन्। उनले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने बताएका छन्।
सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै डेमोक्रेटिक पार्टीका बाइडेनले चार महिनापछि हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनको दौडबाट आफू पछि हटेको जानकारी दिएका हुन्। रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका उम्मेदवार छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु।’
उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गर्दै बाइडेनले लेखेका छन्, ‘सन् २०२० मा पार्टीको राष्ट्रपतिको उम्मेदवार बनेपछि मेरो पहिलो निर्णय कमला ह्यारिसलाई उपराष्ट्रपतिमा छान्ने थियो र यो सबैभन्दा राम्रो निर्णय थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।