काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ सङ्क्रमणसँग सम्बन्धित ‘माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्याको’ अनुभव गरेको र चिकित्सकको सल्लाहमा ‘प्याक्सलोभिड’ को मात्रा दिइएको ह्वाइट हाउसले जनाएको छ।
बाइडेनका चिकित्सक डा केभिन ओ कनरले अमेरिकी राष्ट्रपतिलाई ज्वरो नआएको र सङ्क्रमणसँग सम्बन्धित अन्य लक्षणहरू पनि सामान्य रहेको बताए।
डा केभिन ओ कनरले भने, ‘राष्ट्रपतिले कोभिड-१९ सङ्क्रमणका कारण माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या अनुभव गरिरहनुभएको छ। उहाँलाई ‘प्याक्सलोभिड’ दिइराखेका छौँ। उहाँलाई ज्वरो आएको छैन र अन्य मुख्य लक्षणहरू सामान्य छन्।’
उनले भने, ‘राष्ट्रपतिको अनुमति लिएर उहाँको बारेमा मैले पहिलेजस्तै नियमित जानकारीहरू सार्वजनिक गरिरहनेछु।’
लस भेगासमा आयोजित राष्ट्रिय सम्मेलनमा भाग लिएको एक दिनपछि ८१ वर्षीय राष्ट्रपति बाइडेनमा बुधबार कोभिड-१९ सङ्क्रमण देखिएको हो।
राष्ट्रपतिका निजी चिकित्सकले बाइडेनमा सामान्य रुघाखोकी र माथिल्लो श्वासप्रश्वास नलीमा समस्याका लक्षणहरू रहेको बताएका छन्।
यसअघि सन् २०२२ को जुलाईमा बाइडेन पहिलोपटक कोभिड सङ्क्रमित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।