काठमाडौँ-बङ्गलादेशमा रोजगारीमा आरक्षणविरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीलाई सुरक्षित रहन आग्रह गरेको छ ।
दूतावासले बुधवार सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन र कलेज प्रशासनको निर्देशन पालना गर्न सचेत गराएको हो ।
बंगलादेशमा कृषि, मेडिकल, इन्जिनियरिङलगायत विषय अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या ३ हजारभन्दा बढी रहेको र हालसम्म उनीहरु सबै सुरक्षित रहेको दूतावासले जनाएको छ ।
प्रदर्शनमा हालसम्म ६ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना विद्यार्थीहरू छन् ।
बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा आन्दोलन सुरु भएको हो । आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिगबीच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।