चितवन– पश्चिम चितवनको गोलाघाटको नदीबीचमा एक व्यक्तिको शव भेटिएको छ। हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरु खोज्ने टोली परिचालन भइरहेको अवस्थामा गोलाघाटको नदी बीचमा एक पुरुषको शव भेटिएको हो।
चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो। करिब ३०÷३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ।
मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ। यद्यपि, शव दुर्घटनामा मृत्यु भएका व्यक्तिको हो होइन यकिन भइसकेको छैन। चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले प्रहरीको अनुसन्धान टोली र शव बाहन घटनास्थल गोलाघाट पठाइएको जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परेका व्यक्तिहरुका आफन्तहरु प्रहरीको सम्पर्कमा छन्। उनीहरुसँग समन्वय गरेर दुर्घटनामा परेका व्यक्ति हुन् वा होइनन् पहिचानको प्रकृया अघि बढाइने उनले जानकारी दिए।
डिएसपी रिजालले भने, ‘घटनास्थलमा दुर्घटनामा परेका व्यक्तिहरुका आफन्तहरु पनि पुगिसक्नु भएको छ। हामी उहाँहरुसँग समन्वय गरेर शवको पहिचान गर्नेर्छौँ।
शुक्रबार दुईवटा गुडिरहेको बसलाई पहिरोले बगाएर त्रिशूलीमा डुबाउँदा ५० भन्दा बढी यात्रु बेपत्ता भएका छन्। बससहित उनीहरुको खोजी तथा उद्धार बिहानैदेखि गोताखोरसहितको प्रहरी टोली त्रिशूली तथा नारायणी नदी क्षेत्रमा तैनाथ गरिएका छन्।
चितवन प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी तटीय क्षेत्रमा इलाका क्षेत्रका सबै प्रहरीहरु खोजी तथा उद्धार कार्यमा बिहानैदेखि लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।