ढोरपाटन (बागलुङ)-बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि बागलुङको जैमिनीवासी आजित बनेका छन् ।
जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखिन् । उनले भनिन्, 'यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न ।'
काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, 'पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको उनले बताउनुभयो । पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथे । आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन्छ । बारीको बाली एकै छिनमा नष्ट गरिदिन्छन्, हामीहरु कता जाने भन्ने भइसक्यौँ ।'
बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्दछन् । जैमिनी नगरपालिकाले यसका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । योजनाले भने सार्थकता पाउन सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।