काठमाडौँ- काठमाडौँ-तराई/मधेस द्रुतमार्ग आयोजना अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ। कूल एक हजार ६ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको सुरुङमार्ग छिचोल्ने कार्यको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट अवलोकन गरे। उनले तोकिएको समयमै सुरुङमार्ग छिचोलिएकोमा खुसी व्यक्त गरे।
साथै उनले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिलाई धन्यवाद दिए।
उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।