एजेन्सी-भारत उत्तर प्रदेशको हाथरसमा सत्संगका क्रममा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ ।
उत्तर प्रदेश प्रहरीको आगरा क्षेत्रको प्रहरीले एक सय जनाको मृत्यु भएको पुष्टि गरेको हो । यसअघि हातरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले हातरस दुर्घटनामा करिब ६० जनाको मृत्यु भएको र १८ जना घाइते भएको जानकारी दिएका थिए ।
प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सत्संग सकिएपछि भोले बाबा नामका धार्मिक अगुवाको खुट्टाको धुलो उठाउन मानिसहरू दौडिएका थिए । तर बाबा अर्कोतर्फ जाँदा मानिसहरू त्यतैतिर दौडिए । तर त्यस क्रममा सडकको छेउमा खसेर खाडलमा खस्दा धेरै मानिसको ज्यान गएको हो ।
मृतकमा अधिकांश महिला र बालबालिका छन् । आयोजक र स्थानीयले घाइतेलाई अस्पताल लगेका थिए । मंगलबार दिउँसो २ बजेतिर घटना भएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसका साथै उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।