काठमाडौँ- ललितपुरको मानभवनस्थित सुयोग सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित तीन जना पक्राउ परेका छन्। संस्थाका अध्यक्ष ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष ६० वर्षीया मलिका महर्जन र सचिव ३७ वर्षीय अर्पण कावालाई प्रहरीले पक्राउ गरेको हो।
उक्त सहकारी संस्थाले १२ सय जना बचतकर्ताको निक्षेप अपचलन गरी हालसम्म ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ।
यस विषयमा गत वर्षको चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो। अनुसन्धानबाट अध्यक्ष सुनिल महर्जन २०६५ सालमा श्री नरसिंह सहकारीको सदस्यको रूपमा ४ वर्ष काम गरेको खुलेको थियो। उनी २०७० सालदेखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारीको अध्यक्षको रूपमा कार्यरत रहेका थिए।
उनले सहकारीको सञ्चालक समिति तथा पदाधिकारीमा आफन्त, चिने जानेका, आफूले भनेको कुरा मान्ने मानिसहरू राखी बचतकर्ताको रकम आफूखुसी लगानी गर्दै आएको बुझिएको प्रहरीको भनाइ छ। उनी २०८० सालमा प्रहरी वृत्त कालिमाटीमा चलेको बैंकिङ कसुर मुद्दामा समेत फरार प्रतिवादी देखिएको छ।
मलिका महर्जन २०७६ साल देखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत रहेकी थिइन्। अर्पण कवा पनि २०७६ साल देखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको सचिव पदमा कार्यरत रहेका थिए।
मुद्दा दर्ता भएसँगै अध्यक्ष तथा अन्य पदाधिकारीहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार बारा, ललितपुर र भक्तपुरको विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको थियो।
तीनै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।