काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतीकलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीको विशेष टोलीले उनलाई शुक्रबार अपराह्न पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताए।
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने कार्यमा प्रतीकले बिचौलियाको भूमिका खेलेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। त्यसपछि उनी फरार रहँदै आएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायत थुनामै छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत रिहा भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।