वीरगञ्ज (पर्सा)-प्रसिद्ध गहवामाईको रथयात्रा यही असार २३ गते हुने भएको छ ।
गहवामाईको नवनिर्मित मन्दिरको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने रथयात्रामा भारतसहित मधेस प्रदेशका एक लाखभन्दा धेरैको सहभागिता रहने गहवामाई रथयात्रा समितिले जनाएको छ ।
समितिका अध्यक्ष श्याम पोखरेलले रथयात्राको तयारी अन्तिम चरणमा पुगेको बताए । 'हामीले गत वर्षदेखि गहवामाईको रथयात्रा निकाल्न सुरु गरेका हौँ । भक्तजनको उत्साहजनक सहभागिता भएकाले यो वर्ष पनि निरन्तरता दिनेछौँ । ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई मुलुकभर चिनाउन रथयात्रा गर्न लागेका हौँ', उनले भने ।
अध्यक्ष पोखरेलले गहवामाईको रथमा १५ किलोको चाँदीको मण्डप बनाउन लागेको बताए ।
गहवामाई रथयात्रा समितिका सल्लाहकार दिनाप्रसाद गुप्ताले गहवामाई माताको पूजा आराधनासँगसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि रथयात्रा आयोजना हुन लागेको बताए । चाँदीको मण्डपसहितको रथयात्राका निम्ति रु ४० लाख विनियोजन गरिएको छ । एक महिनादेखि काष्ठकर्मीहरू गहवामाईको रथ निर्माणमा जुटेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।