काठमाडौँ- चिनियाँ नागरिकसँग बिहे गराइदिने प्रलोभनमा पारेर चीन लगेर एक महिलालाई बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले चीनमा महिला बिक्री गरेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले गत फागुनमा पीडित महिलालाई चिनियाँ नागरिकले बिहे गरेर भिजिट भिसामा चीन लगेर बन्धक बनाएको खुल्न आएको जानकारी दिए।
‘पक्राउ राईले फेसबुक म्यासेन्जरबाट पीडित महिलालाई कुराकानी गरी चिनियाँसग भेट्न ठमेल बोलाएर बिहे गर्न लगाएको अनुसन्धानका क्रममा पत्ता लागेको छ,’ मिश्रले भने। पीडित महिलालाई चिनियाँ नागरिकले रु एक लाख ५० हजारमा बिक्री गरेको खुलेको प्रहरीले बताएको छ।
चिनियाँले पीडित महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताए। पीडित महिलालाई चीनस्थित नेपाली राजदूतावासले यही असार ९ गते उद्धार गरी नेपाल ल्याउने वातावरण मिलाएको थियो।
पीडित महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो। घटनामा सङ्लग्न चिनियाँ नागरिक र अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।