काठमाडौँ- झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा विशेष अदालतले ५ जनालाई भ्रष्टाचारी गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार मधेस प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादवसहित ५ जनालाई भ्रष्टाचारी ठहर गरेको हो। दुई जनाले भने सफाइ पाएका छन्।
प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन्। लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन्।
सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो।
तर, आर्थिक मामिला मन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुन विपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ असोज २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
यस मुद्दाको सजाय निर्धारणका लागि विशेष अदालतको २५ असारमा इजलास बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।