जनकपुर- जनकपुरधाममा ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’ सुरु भएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार फेस्टिभलको उद्घाटन गरे।
मुख्यमन्त्री सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा ‘फिल्म फेस्टिभल’ले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले मैथिली भाषामा राम्रा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताए।
वरिष्ठ कलाकार नीर शाहले मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउने विचार व्यक्त गरे।
फेस्टिभलमा मिथिलाञ्चल क्षेत्रका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशक सहभागी छन्। दुई दिनसम्म चल्ने ‘फिल्म फेस्टिभल’ सङ्घीयता कार्यान्वयन भएपछि पहिलो पटक आयोजना गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चारको संयुक्त आयोजनामा जनकपुरधामको गिरिजा चलचित्र मन्दिरमा सुरु भएको ‘फेस्टिभल’मा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने कार्यक्रम छ।
यसैगरी वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुने आयोजक लोकसञ्चार संस्थाका अध्यक्ष रमेशरञ्जन झाले जानकारी दिए। अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभलको क्रममा मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमालगायतका विषयमा विमर्श गरिने आयोजकले जनाएको छ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।