काठमाडौँ-उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यबद्धता र आपसी सहयोगको महत्वमाथि जोड दिएका छन् ।
इरानको राजधानी तेहरानमा भएको एसिया सहयोग संवाद (एसिडी) को १९औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एसिडी क्षेत्रीय र बाह्य प्रभाव पार्ने दबाबका मुद्दामा खुला र परामर्शदायी संवादका लागि एसियाव्यापी क्षेत्रीय मञ्चका रूपमा विकसित भएको उल्लेख गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो सम्बोधनमा क्षेत्रीय सहयोग र बहुपक्षीयताप्रति नेपालको बलियो प्रतिबद्धता दोहोर्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उनले विकास, दिगोपन र समृद्धिको साझा उद्देश्यसहित दिगो विकास लक्ष्य हासिल गर्न एसीडी भिजन २०३० र एसीडी खाका २०२१-२०३० कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
उनले कोभिड–१९, जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दी, बढ्दो द्वन्द्व र भूराजनीतिक प्रतिद्वन्द्वीका कारण उत्पन्न चुनौतीबारे प्रकाश पारेका थिए । उनले थप एकीकृत, लचिलो र समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यबद्धता र आपसी सहयोगको महत्वलाई पनि जोड दिएका थिए ।
बैठकका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले इरानका कार्यवाहक विदेश मन्त्री डा अली बघेरीसहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै क्षेत्रीय र विश्वव्यापी मुद्दासहित पारस्परिक हितका विविध विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकले एसिया सहयोग संवाद सचिवालयको कार्यप्रणालीका लागि मार्गदर्शक सिद्धान्त र एसिडी सदस्यहरूबीच सहयोगको रूपरेखा प्रदान गर्ने र यसको सचिवालयको संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने प्रक्रियाका नियम पारित गरेको छ ।
सन् २०१६ देखि एसिया सहयोग संवाद (एसीडी) को सदस्यका रूपमा नेपाल अन्य एसियाली सदस्य राष्ट्रहरूसँग आपसी लाभ र पूरकताका विभिन्न क्षेत्रहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले संलग्न हुँदै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।