काठमाडौँ-युरोकप फुटबल प्रतियोगिताको गए राति भएको खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो । पोर्चुगलले दुई खेलबाट ६ अंक बटुलिसकेको छ ।
जितसँगै पोर्चुगल समूह ‘एफ’ बाट प्रतियोगिताको नकआउट चरणमा पुगेको हो । दुई खेल खेलेको टर्की भने तीन अंकसहित दोस्रो स्थानमा छ । टर्कीको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।
खेल सुरु भएको २१ औँ मिनेटमै पोर्चुगलले पहिलो गोल गरेको थियो । पोर्चुगलका लागि पहिलो गोल बेनार्डो सिल्भाले गरेका थिए । अनुभवी मिडफिल्डर बेनार्डो सिल्भा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट ब्यवसायिक फुटबल खेल्छन् ।
पोर्चुगलले निर्धारित समयको २८ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । टर्कीका डिफेन्डर सामेत अकायदिनबाट आत्मघाती गोल भएपछि पोर्चुगलले २–० को अग्रता लिएको हो । पोर्चुगलका लागि तेस्रो गोल ५५औँ मिनेटमा चर्चित मिडफिल्डर ब्रुनो फर्नान्डेजले गरेका थिए । उनी म्यानचेस्टर युनाइटेडबाट ब्यवसायिक फुटबल खेल्छन् ।
पोर्चुगलले आफ्नो पहिलो खेलमा चेक गणतन्त्रलाई २–१ गोलले हराएको थियो । टर्कीले भने आफ्नो पहिलो खेलमा जर्जियालाई ३–१ गोलले पराजित गरेको थियो । जर्जिया र चेक गणतन्त्रबिचको खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।