काठमाडौँ-आईसीसी टी–२० विश्वकप क्रिकेटको गए राति भएको ‘सुपर–८ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको छ । जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
शनिबार रातिको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४६ रनमात्र बनाउन सक्यो ।
भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतकीय योगदान गरे । उनले २७ बलमा तीन छक्का र चार चौकाको मद्दतले अविजित ५० रन बनाए । ओपनर विराट कोहलीले पनि ३७ रन बनाए । विराटले २८ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए ।
कप्तान रोहित शर्माले पनि २३ रन बनाए। ओपनर रोहितले केवल ११ बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे । ओपनरद्वय विराट र रोहितले ३९ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिजमा आएका ऋषभ पन्तले पनि टोलीको खातामा ३६ रन थपेका थिए ।
विकेटकिपर ब्याट्सम्यान ऋषभले २४ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान सूर्यकुमार यादब भने ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।पाँचौँ नम्बरमा क्रिज समाल्न आएका शिवम् दुबेले ३४ रन बनाए । उनले २४ बलमा तीन छक्का पनि हिर्काए ।
बंगलादेशका बलर तान्जिम हसन सकिबले दुई विकेट लिए । रिसाद होसैनले पनि दुई विकेट हात पारे । सकिब अह हसनले पनि एक विकेट लिए । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए ।
कप्तान नजमुलले ३२ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए । ओपनर तानजिद हसनले २९ रन जोडे । अर्का ओपनर ब्याट्सम्यान लिटन दास भने १३ रन बनाउँदै आउट भएका थिए । सकिब अल हसन पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।
यसैगरी बंगलादेशका लागि तल्लो क्रमका ब्याट्सम्यान रिसाद होसैनले १० बलमा तीन छक्का र एक चौकाको मद्दतले २४ रन बनाए । महमुदुल्लाहले पनि टोलीको खातामा १३ रन थपे ।
भारतीय टोलीका बलर कुलदीप यादबले तीन विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिए । जसप्रित बुमराह र अर्शदीप सिंहले दुई–दुई विकेट लिए । हार्दिक पाण्ड्याले पनि एक विकेट हात पारे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।