एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा आज मंगलबार उत्तर कोरिया जाने भएका छन् । युक्रेनविरुद्धको युद्धमा सैन्य सामग्री जुटाउनका लागि पुटिनले उत्तर कोरिया भ्रमणमा जान लागेको बताइएको छ ।
रुसले उत्तर कोरियाका नेता किम जोङ उनलाई आतिथ्यता गरेको नौ महिनापछि पुटिनको यो भ्रमण हुन लागेको हो । 'राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १८ देखि १९ सम्म उत्तर कोरियाको मैत्रीपूर्ण राजकीय भ्रमण गर्नुहुनेछ', क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । त्यसपछि उनी भियतनाम जानेछन्।
पश्चिमा मुलुकहरू, दक्षिण कोरिया र किएभले उत्तर कोरियामाथि राष्ट्रसङ्घीय प्रतिबन्धको उल्लङ्घन गर्दै युक्रेनमा प्रयोगका लागि मस्कोमा हतियार पठाएको आरोप लगाएका छन् ।
बदलामा रुसले प्योङयाङलाई उसको उपग्रह कार्यक्रमका लागि प्राविधिक सहायता प्रदान गरेको र खाद्यान्नको सङ्कटग्रस्त मुलुकलाई सहायता पठाएको वासिङ्टन र सोलले बताएका छन् ।
युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले चीनजस्ता मस्कोका केही प्रमुख सहयोगी मुलुकको मात्र भ्रमण गरेका छन् । अहिले रुसलाई पश्चिमा मुलुकहरुले विभिन्न अन्तर्राष्ट्रिय प्रतिबन्धहरु लगाएको छ भने अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को खोजी सूचीमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।