काठमाडौं- टी–२० विश्वकपमा गएराति भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले पराजित गरेको छ । यससँगै बंगलादेशले सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।
बंगलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो । समूह डी मा दोस्रो जित निकालेको बंगलादेशले ३ खेलबाट टोलीले ४ अङ्क बटुलेको छ । नेदरल्यान्ड्स भने २ अङ्कमा सीमित छ ।
यो समूहबाट ३ खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिकाले यसअघि नै अर्को चरणमा स्थान बनाइसकेको छ । यही समूहमा नेपाल पनि रहेको छ । २ खेलबाट नेपालको एक अङ्क छ । ३ खेल खेलेको श्रीलंकाको पनि एक अङ्क मात्र छ ।
नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले सर्वाधिक ३३ रन जोडे । २२ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे । विक्रमजित सिंहले १६ बलमा २६ रन बनाए । उनले ३ छक्का प्रहार गरे । त्यस्तै, कप्तान स्कट एडवड्र्सले २३ बलमा २५ रनको योगदान दिए ।
ओपनर माइकल लेभिटले १८ रन, आर्यन दत्तले १५ रन तथा म्याक्स ओ डाउडले १२ रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले ३३ रन खर्चिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । टोलीका लागि शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा नटआउट रहँदै ६४ रन जोडे । यस क्रममा उनले ९ चौका प्रहार गरे ।
ओपनर तान्जिद हसनले २६ बलमा ३५ रनको योगदान दिए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, मोहम्दुल्लाहले २१ बलमा २५ रन जोडे । यस क्रममा उनले २ चौका र २ छक्का प्रहार गरे । जाकेर अलीले ७ बलमा ३ चौका प्रहार गर्दै १४ रन बनाए । नेदरल्यान्ड्सका लागि आर्यन दत्त र पाउल भान मेकरेनले २–२ विकेट हात पारे । मेकरेनले ४ ओभरमा मात्र १५ रन खर्चिए भने दत्तले ४ ओभर बलिङ गर्दै १७ रन दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।