काठमाडौँ-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
मङ्गलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री अर्यालले श्रमसम्बन्धी ऐन, कानुनको कार्यान्वयन तथा सुधारका साथै त्यसक्रममा प्राप्त अनुभव, उपलब्धिबारे जानकारी दिनुभएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
अर्यालले मङ्गलबार अपराह्न मलेसियाका मानव संशाधन मन्त्री चि केओङ सिमसँग भेटवार्ता गरेका थिए । त्यस अवसरमा उनीहरूबीच नेपाली आप्रवासी कामदारका लागि सुरक्षित कामको वातावरण निर्माण र कामदारको सीप अभिवृद्धिमा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
त्यसैगरी मन्त्री अर्याल र कतारका श्रम मन्त्री अली समिख अल मारीबीच पनि मङ्गलबार नै भेटवार्ता भएको जनाउँदै उक्त नियोगले दुवै मन्त्रीले नेपाली कामदारको समस्या समाधान र कामको अवस्था सुधार गर्न द्विपक्षीय सहयोगलाई सुदृढ बनाउने उपायबारे छलफल गर्नुभएको बताएको छ ।
सम्मेलनमा सहभागी हुने राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री अर्याल आज सामेल हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।