काठमाडौं– विभिन्न व्यक्तिहरुलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–११ का ४६ वर्षीय नारायणकुमार खड्का रहेका छन्।
उनले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि संयुक्त राज्य अमेरिका पठाई दिन्छु भनि विश्वास दिलाई आफ्नो बैकको खातामा पटक-पटक रकम जम्मा गर्न लगाई रकम ठगी गरेको आरोप छ। दुर्गाबहादुर वली र कमला डाँगी बस्नेतको जाहेरीपछि उनलाई सोमबार कञ्चनपुरको भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा विभिन्न मितिमा उनको खातामा विभिन्न मितिमा ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ जम्मा गरेको पाइएको प्रहरीले बताएको छ। यस्तै उनले आफ्नो हाइ लिंक एजुकेशन कन्सलटेन्सी भएको र वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनेर पटक पटक अन्य व्यक्तिहरुबाट पनि आफ्नो खातामा रकम जम्मा गर्न लगाएका थिए।
तर हाल उनको कुनै कन्सल्टेन्सी नरहेको पाइएको छ। यसै अमेरिका पठाइदिने भनी भीएफएस गर्नको लागि भारतमा बायोमेट्रिक गराउने गरेको पाइएको छ।
पीडितहरुलाई अमेरिका लैजाने भन्दै सिंगापुर, आइबरीपोष्ट हुँदै घाना पुर्याएएर अलपत्र पार्ने गरेको भेटिएको छ। यस्तै उनले काठमाडौं, कलकत्ता, अजरबैजान, पोर्चुगल, सुरीनामा हुँदै अमेरिका, ग्रीस, क्यानडा, फिनल्याण्ड, जर्मनी, मेक्सिको, ब्राजिल, पेरू, कोलम्बिया लगायतका देशहरू समेतमा पठाउने भनि ठगी गरेको खुल्न आएको छ।
अनुसन्धानका क्रममा उनले अअमेरिका पठाउने भन्दै १० जनाबाट रकम लिएको, युरोप पठाएवापत प्रतिव्यक्ति ८ देखि १० लाख रकम लिने गरेको, ज्योति विकास बैंकमा रहेको उनको खातामा दुई वर्षको अवधिमा विभिन्न व्यक्तिहरुबाट ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ जम्मा गरेको खुलेको छ।
यस्तै उक्त रकममध्ये जाहेरवाला कमला डाँगी बस्नेतले विभिन्न मितिमा जम्मा ३८ लाख ३५ हजार र दुर्गा बहादुर वलीले विभिन्न जम्मा ८ लाख २० हजार जम्मा गरेका हुन्। खड्काको खातामा जम्मा भएको मध्ये ४ करोड ३२ लाख २६ हजार १०१ रुपैयाँ झिकिसकेको र हाल एक लाख ४२ हजार ५ रुपैयाँ मात्र रहेको पाइएको छ। सीआरएस हेर्दा खड्कालाई विभिन्न कार्यालयबाट ८ वडा बैंकिङ कसुर र एउटा ठगी मुद्दामा बिगो ७८ लाख ८८ हजार बराबरको देखिएको छ।
पक्राउ परेका खड्काको साथबाट विभिन्न व्यक्तिहरुको पाँच थान राहदानी, रकम पठाएको, एसएमएस भएको दुईवटा मोबाइल, दुईवटा सीम, एनसेलको एक थान सीम, विभिन्न व्यक्तिहरूको राहदानीको प्रतिलिपि थान-७, विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक पाना-५९, नारायण कुमार खड्काको नामको विभिन्न बैकहरूको चेक थान-२०, बैक खाता रकम जम्मा गरेको तथा आइएमइ गरेको भौचर थान-३४, रसिद ठेली थान-१ र नारायण कुमार खड्काको नामको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको परिचयपत्र थान-१ बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।