नयाँ दिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको पहिलो निर्णय थप तीन करोड ग्रामीण तथा सहरी घरधुरीलाई घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेका छन् । आवास सहायताका लागि योग्य हुने परिवारहरूको बढ्दो सङ्ख्याका कारण यो निर्णय गरिएको जनाइएको छ ।
ग्रामीण तथा सहरी क्षेत्रका योग्य घरधुरीलाई आधारभूत सुविधासहितको घर निर्माणमा सहयोग पुर्याउन भारत सरकारले सन् २०१५/१६ देखि प्रधानमन्त्रीआवास योजना लागू गर्दै आएको छ ।
कार्यक्रमअन्तर्गत १० वर्षहरूमा आवास योजना र यसअन्तर्गत योग्य गरीब परिवारका लागि कुल ४.२१ करोड घरहरूको निर्माण पूरा भएको छ ।
निर्माण गरिएका सबै घरहरूलाई अन्य आधारभूत सुविधाहरू जस्तै घरेलु शौचालयहरू, ग्यास जडान, बिजुली जडान, धारा जडान, आदि केन्द्र सरकार र राज्य सरकारहरूको अन्य योजनाहरूसँग मिलाएर उपलब्ध गराइन्छ ।
सन् २०१५ मा सुरु गरिएको प्रधानमन्त्री आवास योजना शहरी मिशनअन्तर्गत सन् २०२२ सम्ममा शहरी क्षेत्रमा सबैका लागि आवास उपलब्ध गराउने उद्देश्यले गरिएको थियो । यो आवास योजना शहरी मामिला मन्त्रालय अन्तर्गत भारत सरकारद्वारा लागू गरिएको प्रमुख कार्यक्रममध्ये एक हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।