काठमाडौँ- स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, केल टोलका ६७ वर्षीय सुवर्ण सेलालिक र नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैं पक्राउ परेका हुन्।
उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो। जोशी सञ्चालक समितिका अध्यक्ष, सेलालिक सचिव र पाछैं सदस्य हुन्।
आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ उनीहरूले हिनामिना गरेको आरोप लागेको छ।
पक्राउ परेकाहरू विरुद्ध सहकारी ठगीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।