काठमाडौं- कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यत: सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका एक-दुई स्थानमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।