सुर्खेत– रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका –१० पेउघा घर भई सोही स्थानमा रहेको बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा कार्यरत शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो।
विद्यालयका प्रधानाध्यापक खम्बबहादुर केसीका अनुसार बुधबार विद्यालयको काम सकेर घर जाँदै गर्दा घर नजिकैको भिरबाट खसेकका हुन्। मृतक खड्का विद्यालयको सहायक प्रधानाध्यापकसमेत रहेको थिए।
भिरबाट लडेर गम्भीर घाइते भएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको बेला चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनी भिरबाट लडेर करिब चार सय मिटर तल खसेका थिए।
उनी २०५३ देखि २०६० सम्म मुसिकोट नगरपालिका १२ जमारूमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत थिए। हाल बाल कल्याण मावि टोड्केमा प्रावि स्थायी शिक्षक पदमा कार्यरत रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।