काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी आन्दोलित भएका छन्। एक महिनादेखि पदपूर्तिको लागि विज्ञापन खुलाउन माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले रिले असनसनसमेत सुरु गरेका छन्।
तीन महिनादेखि कर्मचारी पदपूर्तिका लागि विभिन्न मागहरु राख्दै आए पनि कुनै सम्बोधन नभएपछि आइतबारदेखि रिले अनसन सुरु गरेको सीटीईभीटी कर्मचारी संगठनका अध्यक्ष चन्द्रकिशोर शर्माले जानकारी दिए।
उनका अनुसार अहिले सीटीईभीटी कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन गरी दुईवटा संगठनले संयुक्त रुपमा अनसन सुरु गरिएको हो। शुक्रबारसम्म रिले अनसन रहेको र माग सम्बोधनका लागि कुनै प्रक्रिया थालनी नभए शनिबार फेरि बसेर आन्दोलनका आगामी कार्यक्रमहरु तय गरिने उनको भनाइ छ।
विगत ६ वर्षदेखि कर्मचारी पदपूर्तिका लागि सीटीईभीटीमा आवेदन माग गरिएको छैन। तर यसअवधिमा उमेर हदका कारण धेरै कर्मचारी अवकाशमा गइसकेका छन्। अहिले सीटीईभीटीमा ५० प्रतिशत कर्मचारीको दरबन्दी खाली रहेको उनले जानकारी दिए।
‘यस्तो अवस्थामा यहाँका कर्मचारीलाई काम गर्ने मनोबल पनि कमजोर भइरहेको छ। र कामको भार पनि बढिरहेको छ। तर सम्बन्धित निकायबाट पदपूर्तिको प्रक्रिया थालनीको कुनै संकेत छैन। हाम्रो अध्यक्ष शिक्षामन्त्री नै हुनुहुन्छ। तर यतिलामो समयदेखि आन्दोलन गर्दै आए पनि उहाँबाट कुनै रेस्पोन्स नै आएको छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।