काठमाडौँ- सस्तो दरमा साउदी रियाल साटिदिने प्रलोभन देखाएर श्रृंखलाबद्ध ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सिन्धुलीको दुधौली नगरपालिका–१२ जिनाखुका ३५ वर्षीय दीपक तामाङ, सोही ठाउँका ४९ वर्षीय टेकबहादुर घिसिङ र ३६ वर्षीय निरबहादुर तामाङ छन्।
प्रहरीले उनीहरुबाट १०० दरको साउदी रियाल २ थान, नेपाली रुपैयाँ १० को १०० थान, प्रदेश १–०५–००१ प ८०३७ नम्बरको मोटरसाइकल, बा ४६ प ९७७५ नम्बरको स्कुटर र ३ थान मोबाइल बरामद गरेको छ।
१६ जेठमा रामेछापको दोरम्बा गाउँपालिका–७ घर भई काठमाडौं बस्दै आएकी ५८ वर्षीया चन्दरी तामाङलाई साउदी रियाल देखाई यो समूहले ठगी गरेको भन्दै उजुरी परेको थियो। सुनका गरगहना र नगद गरी चन्दरीबाट यो समूहले २ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरी थियो।
यो समूहले अहिलेसम्म श्रृंखलाबद्ध रुपमा १४ लाख २१ हजार ५ सय रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
१० साउन २०८० मा काभ्रेको तेमाल घर भएकी ३५ वर्षीया फुलमाया तामाङलाई सस्तो दरमा साउदी रियाल दिने भन्दै उनीसँग भएको गहना र नगद गरी ४ लाख ८५ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी १५ साउन २०८० मा रामेछापको गुप्तेश्वरकी सरमाया तामाङलाई पनि यही शैलीमा सुनका गहना र नगद गरेर २ लाख २२ हजार ५ सय रुपैयाँ ठगी गरेको खुलेको छ।
२४ साउन २०८० मा ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ का उत्तम बस्नेतलाई भने सस्तोदरमा कतारी रियाल दिने भन्दै उनीबाट २ लाख २० हजार रुपैयाँ बराबरको सुनको गहना ठगी गरेको खुलेको छ।
२१ पुस २०८० मा दोलखाको डाँडाखर्ककी दिलकुमारी तामाङबाट भने यो समूहले २ लाख ८४ हजार ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।