काठमाडौँ- आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार राति भएको खेलमा वेष्टइन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले पराजित गरेको छ।
वेष्टइन्डिजले १३७ रनको सामान्य लक्ष्य १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। वेष्ट इन्डिजका लागि रोस्टन चेशले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको अविजित इनिङ खेले। धर्मराएको टोलीलाई चेश र आन्द्रे रसेलले जितसम्म डोर्याएका थिए।
ओपनर ब्रेन्डन किंग २९ बलमा ७ चौकासहित ३४, जोनसन चार्ल्स शून्य, निकोलस पुरन २७, रोभम्यान पावेल र आन्द्रे रसेलले १५/१५ रन बनाए।
पपुवा न्युगिनीका असाद भालाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए। एली नओ, चाद सोपर, जोन कारिकोले एक/एक विकेट लिए।
त्यसअघि प्रोभिडेन्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको थियो।
सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले। असाद भाला २१, टोनी उरा २, चाल्र्स अमिनी १२, किप्लिङ डोरिगा २७ र चाद सोपरले १० रन जोडे।
वेष्टइन्डिजका आन्द्रे रसेल र अल्जारी जोशेफले २/२ विकेट लिए। अकिल हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोतीले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।