काठमाडौं- नवलपरासीको छिपछिपे सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतसहित ३५ जना विरूद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पेस गरेको राय सहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।
बचतकर्ताको रकम अपचलन मुद्दामा उनीहरु विरुद्ध हदैसम्मको कैद, बिगो र जरिवाना गर्न अभियोगपत्रमा माग गरिएको छ। उनीहरूविरूद्ध १६ करोड ५६ लाख ९४ हजार ३१ रुपैयाँ अपचलन गरेको आरोप छ ।
सहकारीका कार्यालय प्रमुख योगेन्द्र पाण्डेले विभिन्न व्यक्तिको काल्पनिक खाता खडा गरी ऋण लगानी गरेको देखाउने तर रकम आफूले खर्च गरे जसरी झुटा विवरण तयार गरी रकम हिनामिना गरेको आरोप अभियोगपत्रमा लगाएका छन् ।
सांसद गीता बस्नेतमाथि सहकारीको करिब ९६ लाख रुपैयाँ कृष्णसार रिसोर्ट प्रालिको नाममा दाखिला गराएर हिनामिना गराएको अभियोगपत्रमा उल्लेख छ।
त्यस्तै उनले आफ्ना ज्वाइँ अध्यक्ष रहेको सनराइज सहकारीमा रकम दाखिला गर्न लगाएको अभियोगपत्रमा उल्लेख छ ।
उनीविरूद्ध प्रतिवादीहरू ढुण्डिराज गौतम, योगेन्द्र पाण्डे, नगेन्द्रबहादुर रिमाल, सञ्जिव कुमार महतो लगायतले बयान गरेका थिए ।
अभियोगपत्रमा बस्नेतलाई सहकारी ऐन, २०७४ को दफा १२२ को (त) बमोजिम कसुर गरेकाले सोही अनुसार कैद हुनुपर्ने माग गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।