काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाको सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायत विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सबइन्जिनियर विक्रम बुढाले सम्झौताबमोजिम काम नहुँदासमेत बिल भुक्तानी गराएको आरोप लगाएको छ। उनीहरु विरुद्ध आयोगले रु १३ लाख ७२ हजार तीन सय ४० बराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो।
आयोगले सडक निर्माण समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढाविरुद्ध पनि समान बिगो दाबी गरेको छ। गाउँपालिकाका सदस्य एवं अनुमगन समितिका संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन वडा अध्यक्ष राजेन्द्र बुमीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ। कूल तीन सय ४८ दशमलव ४३ घनमिटर ढुङ्गा छापेर सडक निर्माण गर्नुपर्नेमा एक सय १८ दशमलव ९८ घनमिटर मात्रै काम गरेको आयोगले जनाएको छ।
गलत अनुगमन प्रतिवेदन दिन लगाई सोही प्रतिवेदनका आधारमा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आयोगले जनाएको छ। आयोगले आरोपीहरु विरुद्ध बिगोबमोजिम कारबाही माग गर्दै आज मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।