एजेन्सी–मु्म्बईको एक विशेष अदालतले छोटा राजनलाई सन् २००१ मा होटल मालिक जया शेट्टीको हत्याको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ ।
महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट (एमसीओसीए) अन्तर्गत चलाइएको मुद्दामा विशेष न्यायाधीश एएम पाटिलको इजलासले छोटा राजनलाई उक्त हत्याकाण्डमा दोषी ठहर गरेको हो ।
मुम्बईको गोल्डन क्राउन होटलका मालिक शेट्टीको २००१ को ४ मेका दिन छोटा राजन समूहले गोली हानी हत्या गरेको थियो । प्रहरीले होटल म्यानेजरको उजुरीका आधारमा हत्याको मुद्दा दायर गरेको थियो । प्रहरीले छोटा राजन समूहले होटल मालिकसँग पैसा मागेको र दिन अस्वीकार गरेका कारण हत्या भएको दाबी गरेको थियो ।
छोटा राजन पत्रकार जे डेको सन् २०११ मा भएको हत्यामा दोषी ठहर भएपछि हाल जन्मकैदको सजाय काटिरहेका छन् । हाल उनी दिल्लीको तिहाड जेलमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।