काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन्।
शुक्रबार पशुपति क्षेत्र विकास कोषको ३८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुने बताए। उनले विगतमा पशुपति विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको बताए।
पछिल्लो समय कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएपनि अब त्यस्तो हुन नदिने प्रतिवद्धता जनाए। उनले गैरराजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गरे।
उनले पशुपति क्षेत्र विकास कोष गैरराजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने प्रतिवद्धता जनाए। उनले पशुपति क्षेत्र विकास कोषमा राजनीतिक गर्न नहुने विषयमा आफू सचेत रहेको बताए।
पशुपति क्षेत्र, विश्व सम्पदा सूचिमा सूचिकृत,पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको उनको भनाइ छ। मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवद्र्धन गर्नसके धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने बताए।
उनले करोडौं जनसंख्या भएको हिन्दूधर्मप्रति आस्था राख्ने भारतका हिन्दू धर्मालम्वीहरुलाई सहज रुपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए।
रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूर्तपूर्ण योगदान पुर्याउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।