काठमाडौं- आइतबार एक कार्यक्रमकाबीच पूर्व नेपाल सुन्दरी नीति शाहको डेब्यू सिनेमा 'खजुरे ब्रो'को ट्रेलर सार्वजनिक गरियो। सार्वजनिक ट्रेलर ३ मिनेट २० सेकेण्ड लामो छ। यति लामो ट्रेलरमा नीतिले पाएको सक्रिन स्पेस निक्के कम छ। टिजरमा पनि उनले खासै स्पेस पाएकी थिइनन्। ट्रेलरमा उनको केबल एउटा संवाद छ।
थुप्रै सिनेमा अनुबन्धित हुँदै विविध कारणले उनका सिनेमाहरु फ्लोरमै जान सकेनन्। उनको ठूलो पर्दामा देखिने चाहाना अन्ततः 'खजुरे ब्रो'ले पूरा गर्यो तर ट्रेलर र टिजरमा उनले स्पेस कम पाइन। सिनेमाको आज बजारमा चर्चा छ भने नीति शाहको सिनेमा भनेर नै भइरहेको छ। तर जसको नामले जेजति चर्चा बटुलेको छ, उसैको ट्रेलर र टिजरमा स्क्रिन स्पेश किन?
ट्रेलर सार्वजनिक कार्यक्रममा नीतिले यो प्रश्नको सामना गर्नुपर्यो। उनले यसमा आफूलाई चित्त नदुखेको र ट्रेलरमा कम देखिएको कुराले कुनै फरक नपरेको र सिनेमा खजुरे पात्रको सिनेमा भएकाले सोही पात्र बढि देखिएको जवाफ दिइन्।
‘ट्रेलरमा कम देखिएँ भन्नेमा मेरो चित्त दुखाई छैन । यो मेरो पहिलो फिल्म भएकाले एकदमै खुसी छु । फिल्मको नामै ‘खजुरे ब्रो’ भएकाले स्वभाविक रुपमा त्यो पात्रको भूमिका बढी छ ', नीतिले भनिन्, 'भूमिका चाहिँ स्क्रिप्टले जति खोजेको छ, त्यति छ । र, चरित्रलाई न्याय गर्ने प्रयास गरेको छु भन्ने आशा छ । ट्रेलरमा कम देखिएँ भन्ने कुराले चाहिँ मलाई फरक पारेको छैन।’
उता निर्देशक सुरज सुनुवार भने नीति सिनेमामा ‘सरप्राइज प्याकेज’ भएको बताए । दर्शकको कौतुहलताका लागि यस्तो गरिएको उनको भनाइ छ।
‘नीतिको भूमिका कस्तो रहेछ भनेर दर्शकलाई कौतुहलता होस् भन्ने नै हामीले चाहेका हौं । नीतिलाई ‘सरप्राइज प्याकेज’को रुपमा राखेका छौं । फिल्म आएपछि नीतिको क्यारेक्टर के हो, कस्तो काम गरेको छ र कति ‘स्क्रिन स्पेश’ छ भन्ने कुरा थाहा भइहाल्छ,’ उनले भने।
स्वयं नीति र निर्देशकले नै यस्तो बताइसकेपछि सिनेमा रिलिज नहुँदासम्म उनीहरुको भनाइलाई विश्वास गर्नु बाहेक कुनै विकल्प छेन।
सिनेमा वैशाख २८ गते रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।