काठमाडौं– 'छक्का पञ्जा ४'को स्पष्ट हिसाब नपाएको भन्दै निर्देशक हेमराज बिसीले प्रहरीकोमा उजुरी दिएपछि सिनेमाका निर्माता निर्मल शर्मा प्रहरीकोमा उपस्थित भएका छन्।
मंगलबार उनी काठमाडौं प्रहरी परिसर, टेकुमा कम्पनीका लेखापालसहित पुगेका हुन्। निर्मल शर्मा यसका कार्यकारी निर्माता हुन् भने सिनेमा दिपकराज गिरी तथा दिपाश्रीको आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको हो।
'नेपाल लाइभ'सँग कुरा गर्दै निर्देशक बिसीले आफूले पटकपटक औपचारिक हिसाब माग्दा नपाएपछि उजुरी दिएको स्वीकार गरे। बिसी यतिबेला अमेरिकामा रहेका छन्। उनले 'छक्का पञ्जा' निर्माण टिम विरुद्ध एक महिना अगाडि अनलाइन मार्फत उजुरी दिएका हुन्।
यो सिनेमामा बिसी १५ प्रतिशत हिस्सेदार हुन्। 'मैले पटकपटक हिसाब मागें उहाँहरुले आउनुस् लिएर जानुस् भन्नुभयो। म अमेरिका भएकाले मेलमा हिसाब मागें तर पाइन', बिसीले नेपाल लाइभसँग भने।
नेपाली सिनेमा इतिहासमा सबैभन्दा सफल सिरिज मानिएको यो सिनेमामा यसपटक प्रस्तुतकर्तामा रेमिट्यान्स सेवा प्रदायक आइएमईसमेत प्रस्तुतकर्ता रहेको छ। उजुरीपछि प्रहरीकोमा पुगेका यस सिनेमाका कार्यकारी निर्मातामध्येका एक निर्मल शर्माले उजुरी परेको स्वीकार गरे।
'उहाँले हिसाबकिताब चित नबुझेको उहाँको गुनासो छ। अडिट रिपोर्ट उहाँलाईपठाइदिसकेका छौङ ६५ लाख रुपैयाँ लिइर जानुभएको बढि पैसा पाउनुपर्छ भनेर जानुभएको हो। डिटेल कुरा दिपकजी(दिपकराज गिरी)लाई थाहा छ', निर्मल शर्माले उजुरी परेको स्वीकार गर्दै भने।
राजनीतिक विषयमा आधारित सिनेमामाले नेपाली वक्सअफिसमा झण्डै १८ करोड ग्रस कमाइ गरेको छ। यो नेपाली वक्सअफिसले सार्वजनिक गरेको हिसाब हो। यसमा ओभरसिज कमाइ समावेश छैन। प्रहरीमा पुगेका उनीहरुले प्रहरीलाई केही दिनमा हिसाबसहित प्रस्तुत हुने बताएका छन्।
प्रहरीकोमा अब उनीहरु भ्याटबिलसहितको औपचारिक हिसाबसहित पेस हुनुपर्नेछ। श्रोतका अनुसार हेमराजले पाउनुपर्नेभन्दा कम पैसा पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।