काठमाडौं– ‘डिग्री माइला’ टिम पूर्व दौडाहामा निस्केको छ। सिनेमाका बारेमा दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिन यसका प्रमुख कलाकारहरु आजबाट मोफसलका दर्शक भेटघाटमा निस्केका हुन्।
सिनेमा चैत ३० गते रिलिज भएको हो। दयाहाङ राई, आचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिमले कोशी प्रदेशको राजधानी विराटनगरबाट यो भेटघाट सुरु गर्नेछ।
निर्माता मणिराम पोखरेलका अनुसार यो भेटघाट बिर्तामोड पुगेर समापन हुनेछ। सुरुमा 'डिग्री माइला' टोली बिहान १० बजे विराटनगरस्थित क्यूएफएक्स सिनेमा हलमा पुग्ने छ। त्यहाँ उनीहरुले प्रेस तथा ११:३० को शोमा सिनेमा हेर्न आएका दर्शकहरुसँग भेटघाट एवम् संवाद गर्नेछन्।
त्यसपछि उनीहरु विराटनगरका अन्य सिनेमाहलमा पनि पुग्नेछन्। विराटनगरपछि टिम इटहरीका इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछ।
बुधवार भने यो टिम बिहान ११ बजे दमक स्थित डि म्याक्स, दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र साँझमा ५ बजे पाथिभरा सिनेप्लाजामा जाने तालिका रहेको निर्माता पोखरेलले बताए।
रामबाबु गुरुङ निर्देशित सिनेमाले वक्सअफिसमा सुखद व्यापार गरिरहेको छ। वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको सिनेमाको कमाइ तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन्।
सिनेमा हेरेका दर्शकले सिनेमाको विषय, कलाकारको अभिनय आफूहरुलाई मनपरेको प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।