काठमाडौं– मंगलबार साँझ पर्नै लागेको थियो। आन्दोलित मिटरब्याज पीडितहरु काठमाडौंको सडकमा पैदलमार्च सक्याएर भृकुटी मण्डपको प्रदर्शनी हलतर्फ छिर्दै थिए। कसैका हातमा झण्डा थियो कसैको हातमा पम्प्लेट । कोही झोला बोकेर त्रिपालको छानो भएको छाप्रोभित्र पस्दै थिए। २५ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडित गत ११ गतेदेखि भृकुटिमण्डपस्थित प्रदर्शनी हलमा बस्दै आएका थिए।
तर, बुधबार मिटरब्याज पीडितलाई प्रदर्शनी हलबाट हटाउन प्रहरीले हलको पछाडी छाप्रो बनाइदिएको थियो। त्यही छाप्रोको छेवैमा उमेरले करिब ७० वर्ष नाघेकी गालो मण्डल (पीडित) लठ्ठीको साहारा लिएर उभिइरहेकी थिइन्। रुन्चे अनुहार लिएर उभिरहेकी मण्डलको चिसोलेभन्दा कमजोरीले हात गोडा थर्थरी कापिरहेका थिए।
-1709121252.jpg)
सेतै फूलेको कपाल, छोपेको सारिको फेरो तान्दै ‘खुइया’ सुस्केरा हालिन् र बेरेर राखिएको कार्पेटमा थुचुक्कै परिन्। मिटरब्याज पीडितको मेची–महाकाली पैदल मार्चको हुलसँगै उनी पनि २५ दिन पैदल हिँडेर काठमाडौं आइपुगेकी हुन्। खुट्टामा सेतो पट्टी बाँधिएको थियो। मेची–महाकाली पैदल मार्चमा हिँड्दै आउँदा मकवानपुरको मनोहरीमा स्थानीयको आक्रमणमा परेकी थिइन्। त्यहिबेला उनको खुट्टामा गहिरो चोट लागेको थियो।
‘हामी हिँडिरहेका बेलामा एउटा स्कुटर आएर ठोक्कियो। हामी त हेरिरहेका थियौं। वरपरका मान्छे आएर शिसाका बोतलले हान्न थाले। मेरो खुट्टामा पनि लागेर रगताम्य भयो। चोट नै लागेछ त्यसपछि अस्पताल लगेर उपचार गराएँ। हिँड्न मिल्ने भएकाले अरूसँगै हिँडेर आएँ,’ उनी सुनाउँछिन्,‘महाजनले घरबारै हडपेको छ। न्याय माग्न जसरी पनि काठमाडौं आउनै पर्ने थियो।’
-1709121251.jpg)
गालो सामान्य परिवारमा जन्मिएकी थिइन्। उनको विवाह पनि सामान्य परिवारमा नै भएको थियो। खान–लाउन बनिबुतो गरेर पुर्याउँथिन्। जमिनका नाममा ९ धुर थियो, त्यसैमा सानो घर पनि। तर खुसीले बितिरहेका थिए दिनहरु। त्यहीबेलामा उनका श्रीमान् बिरामी परे। १६ वर्षअघि खेतमा धान लगाउन उनले महाजनसँग ६ सय रुपैयाँ ऋण काढिन्। धान फलेपछि बिक्री गरेर दिन्छु भनेपछि महाजनले ऋण दिन तयार भए। धान फल्यो तर बिक्री गरेर साहुको ऋण तिर्न सकिनन्। बिरामी श्रीमान्को उपचार गराउन खर्च थपियो।
‘६ सय रुपैयाँ ऋण लिइएको २ वर्ष नाघेको थियो। महाजनलाई बुझाउन गएको १२ हजार रुपैयाँ मागे। मैले ६ सय लगेको १२ हजार रुपैयाँ बुझाउने कुरा आउँदैन। बुझाउँदिन भने मैले लगेको ६ सय हो ६ सय रुपैयाँ दिँदा साहुले लिएनन्,’ उनी सम्झिन्छिन्।
-1709121251.jpg)
त्यसपछि साहुले उनलाई धम्की दिन थाले। ऋण नतिरेसम्म घरसहितको ९ धुर जमिन नक्कली तमसुक बनाई जबर्जस्ती औंठा छाप गर्न लगाएर हडपेको उनी सुनाउँछिन्। उनको जमिन साहुले आफ्नो नाममा बनाएपछि उनीहरुलाई घरबाट पनि निकाले।
‘श्रीमान्ले दुःखले इटाको गारो भएको घर बनाएका थिए। छानो खपडाले छाएको थियो। त्यति राम्रो घर हडप्यो। अहिले माटोको छाप्रोमा बसेर दुःख कटाइरहेकी छु,’ उनले भनिन्, ‘जनकपुरमा भएको सामान्य जमिन प्रति धुर २ लाखले बिक्री हुन्छ। मूल सडक र बजार नजिकमा भए प्रतिधुर ७ लाख रुपैयाँसम्म पर्छ। मेरो जग्गाको मूल्य अहिले २७ लाख रुपैयाँमा पर्छ।’
-1709121251.jpg)
साहुले घरसहितको जमिन हडपेपछि उनी माइतीमा बस्दै आएकी छन्। उनका श्रीमान् बितिसके, एक छोरा वैदेशिक रोजगारीका लागि ३ वर्षदेखि साउदीमा छन्। ‘छोरा बुहारीले गाली गर्दै भन्छन्–ऋण लिएर साहुले जग्गा हडप्यो। उ बेला ऋण नलिएको भए आज आफ्नै घर र जग्गा हुन्थ्यो। मैले पनि ऋण लिन जानिनँ। तर ऋण नलिएको भए कसरी बाँच्ने ?’ उनी सुनाउँछिन्।
अहिले ऋण लिइएको साहुको निधन भइसकेको छ। उनको जमिन साहुका छोराले भोगचलन गर्दै आइरहेका छन्। आफूले ऋण लिएको बेलामा कुनै कागजपत्र नलिएकाले अनुचित लेनदेन जाँचबुझ आयोगमा दर्ता गर्न नपाएको उनी सुनाउँछिन्। ६ सय रुपैयाँ लगेको भरमा साहुले आफ्नो जमिन हडपेर अन्याय गरेको तर अझै न्याय नपाएको उनले बताइन्।
-1709121251.jpg)
सबैजना न्यायका लागि काठमाडौं आएपछि आफू पनि केही राहत मिल्ला कि भनेर आएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।