चिसो मौसममा रुघाखोकीले नसताएका व्यक्ति कमै हुन्छन् होला। जोसुकैले पनि चिसो मौसममा एक न एकपटक रुघाखोकीको सामना गर्नै पर्छ।
रुघाखोकी सामान्यतया हप्ता दिनमा आफैं निको पनि हुन्छ। रुघाखोकी निको पार्न कतिपयले भने औषधिको पनि प्रयोग गर्छन्।
चिसो मौसममा रुघाखोकीसँगै इन्फ्लुएन्जा (फ्लु)को संक्रमण पनि बढी हुन्छ। फ्लु र सामान्य रुघाखोकी दुवै श्वासप्रश्वाससम्बन्धी संक्रामक रोगहरू हुन्, तर तिनीहरू विभिन्न भाइरसका कारण हुन्छन्।
फ्लु इन्फ्लुएन्जा भाइरसबाट मात्र हुन्छ, जबकि सामान्य रुघाखोकी राइनो भाइरस, प्याराइन्फ्लुएन्जा र मौसमी कोरोना भाइरस लगायत विभिन्न भाइरसहरूको कारणले हुन सक्छ।
रुघाखोकी र फ्लुमा के फरक छ? के भाइरस चिसोमा बढी सक्रिय हुन्छन्? डाक्टर लोचन कार्कीले यसबारे सामान्य जानकारी साझा गरेका छन्।
रुघाखोकी र फ्लुमा के फरक छ?
रुघाखोकी र फ्लु दुवैका लक्षण समान हुन्छन्। खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाक बग्ने र बन्द हुने, थकाइ लाग्ने, जीउ दुख्ने लगायतका लक्षणहरु देखिन्छन्। रुघा राइनो भाइरसबाट हुन्छ भने फ्लु एन्फ्लुएन्जा नामक भाइरसका कारण हुन्छ।
राइनो भाइरस सामान्य खालको हो। यसले ज्यानै लिने गरी संक्रमित पार्दैन। यो भएको हप्ता/दस दिनमा ठिक हुन्छ। उच्च ज्वरो पनि हुँदैन। तर फ्लु घातक हुन सक्छ। रुघाखोकी जस्तै लक्षिण देखिए पनि यसले निमोनियासम्म गराएर मृत्यु समेत हुन सक्छ। उच्च ज्वरो आयो, एक हप्तामा ठिक भएन, खकार पहेंलो हुन थाल्यो र घ्यारघ्यार हुन थाल्यो भने सचेत हुनुपर्छ। उपचार गराउनुपर्छ।
यसबाट जोगिनका लागि हरेक वर्ष फ्लुको भ्याक्सिन लगाउनुपर्छ। दीर्घरोगी, वृद्धवृद्धा र बच्चाले अनिवार्य रुपमा भ्याक्सिन लगाउनु राम्रो हुन्छ।
के भाइरस चिसोमा बढी सक्रिय हुन्छन्?
सामान्यतया रुघाखोकीको समस्या जनरवरीबाट सुरु हुन्छ। फेब्रुअरीमा पिकमा जान्छ। त्यसपछि विस्तारै घट्छ। हामीले कोभिड पनि देख्यौं। चिसोमै सुरु भएको थियो। कोभिडले अर्को के सिकायो भने, भाइरस रहने चाहिँ वर्षभरि नै रहेछ। यो भाइरस सर्यो भने गर्मीको समयमा पनि सताउँछ। कोभिड पनि श्वासप्रश्वासको समस्या हो। त्यसैले यहाँ कोभिडलाई उदाहरणका रुपमा प्रस्तुत गरिएको हो।
चिसोमा रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ?
जाडोमा भाइरसजन्य रोगले बढी सताउनुको कारण दैनिक जीवनशैलीमा हुने परिवर्तन र शारीरिक अभ्यास घट्दै जानु हो। खानपान परिवर्तन हुन्छ, झोल खानेकुरा न्यून मात्रै खाइन्छ। यी कारणले रोग प्रतिरोधी क्षमता कम भएको हुन्छ। अर्को, जाडोमा सकेसम्म नजिक भएर बसिन्छ। एउटाले कहीँबाट भाइरस ल्यायो भने सजिलै अर्कोमा सर्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।