पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज (आइतबार) दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउँछन्। काठमाडौं– हिन्दु धर्मावलम्बी नेपालीले आज (आइतबार) दिवङ्गत पितृका नाममा महादीपदान गर्दैछन्। प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज (आइतबार) दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउँछन्। त्रयोदशीका दिन दीपदान गरी चतुर्देशीका दिन बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन्। यसरी आएका श्रद्धालु भक्तजनको आज बिहानैदेखि पशुपतिमा भिड लाग्छ।
बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्छ। आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ।
बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन्। शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ।
धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने बताउँछन्। ‘भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ’, उनले भने।
मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो। माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने समितिका अध्यक्ष गौतमले बताए।
उनका अनुसार धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ। यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ।
बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको जनाएको छ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेको बताए। उनले भने, ‘मृतकका आफन्तजनले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन रातभर महादीप बाली भजनकीर्तन र लोकझाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ।’
पशुपति क्षेत्रको मृगस्थलीमा परिभ्रमण गर्दै शतबीज छर्नाले प्रत्येक दानामा एक रति सुवर्णदानसरह हुने, दिवङ्गत पितृले संसारमा भड्किनु नपर्ने विश्वाससहित पशुपति, गुह्येश्वरीको दर्शनका साथै वासुकी नागको पूजा एवं दर्शन गर्ने चलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।