काठमाडौं- नेपाली नागरिकलाई अवैध रुपमा रुस पठाएर सेनामा भर्ना गराएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ।
परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ नेपाली नागरिक मारिएको पुष्टि गर्दै विवरण सार्वजनिक गरेपछि प्रहरीले रुस पठाउने गिरोहमाथि एक्सन लिएको थियो।
सो क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन्।
उनीहरु सबैलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
लैनचौर, ठमेल र महाराजगञ्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। यो गिरोहले रुसी सेनामा भर्ना हुन नेपालीहरुलाई अवैध तरिकाले भिजिट भिसामा रुस पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ। तर अहिलेसम्म पक्राउ परेका १२ जनाविरुद्ध कोही कसैले पनि उजुरी नदिएको प्रहरी स्रोतले जानकारी दियो।
रुस पठाउने गिरोहको कार्यालयबाट प्रहरीले नगदसहित विभिन्न कागजपत्रहरु बरामद गरेको छ।
‘हामीले पीडितहरुलाई सम्पर्कमा आउन र उजुरी दिन आग्रह गरेका छौं। तर अहिलेसम्म कोही पनि उजुरी दिन आउनु भएको छैन,’ एक प्रहरी अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।