काठमाडौं– गैरआवासीय नेपाली (एनआरएन) हरुलाई नागरिकता दिने बाटो खुलेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसका लागि ९ बुँदे सूचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले नागरिकता प्राप्तिका लागि पेस गर्नुपर्ने कागजपत्रको रुपमा वडाको सिफारिसदेखि प्रहरीको सर्जमिन मुचुल्कासम्म माग गरेको छ।
संसद्का दुवै सदनबाट पारित नेपाल नागरिकता संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडलले प्रमाणीकरण गरेसँगै एनआरएनहरूका लागि नागरिकता लिने बाटो खुलेको थियो। सरकारले केही अघि यसका लागि आवश्यक नियमावली पनि राजपत्रमा प्रकाशित गरिसकेको छ।
उक्त नियमावलीअनुसार सबै जिल्ला प्रशासनहरुले सूचना जारी गर्ने तयारी गरेका छन्। उनीहरुले तोकेको ढाँचामा निवेदन दिएपछि जिप्रकाहरुले गृह मन्त्रालयले विकास गरिरहेको प्रणालीमा ती जानकारी अद्यावधिक गर्ने छन्।
जिप्रका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले सरकारले बनाएको नागरिकता ऐन र नियमावलीअनुसार एनआरएनका हकमा नागरिकता दिनका लागि सूचना जारी भएको र उक्त सूचना अनुसारको विवरण उपलब्ध गराएपछि नागरिकता वितरण सुरु हुने बताए।
ऐन र नियमावलीमा भएका व्यवस्थाहरुमै टेकेर सूचना जारी गरिएको र एनआरएनहरुले निवेदन दिएपछि आफूहरुले नागरिकता वितरणको प्रक्रिया सुरु गर्ने उनको भनाइ छ।
के छ नियमावलीमा?
नियमावलीका अनुसार गैरआवासीय नेपाली (एनआरएन) हरुले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने छन्। संशोधित नियमावलीअनुसार गैर आवासीय नेपालीले विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये १ जनाको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ।
गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेस गर्नुपर्नेछ। सार्क राष्ट्रमा बसोबास गर्नेहरूले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन्।
गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले परराष्ट्र मन्त्रालयमार्फत् १५ दिनभित्र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्नेछ। यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीसमक्ष ती गैरआवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ।
प्रमुख जिल्ला अधिकारीलाई गैरआवासीय नेपालीले पेस गरेको विदेशको नागरिकता र राहदानीमा शंका लागेमा उनले सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न लगाउन सक्नेछन्। यसरी वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनु पर्नेछ। गैर आवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिबद्धता अर्थात् शपथ गराउनुपर्नेछ। नेपाली नागरिकता लिन चाहने गैरआवासीय नेपालीले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने व्यवस्था गरिएको छ।
गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता नियमावली तेस्रो संशोधन पारित गरेको थियो।
यस्ता छन् ९ बुँदा:
१) अनुसूची ८ ग. बमोजिम सम्बन्धित वडाको सिफारिस सहितको निवेदन
२) निवेदकको नाता जोडिएको तीन पुस्ताभित्रको व्यक्तिको नागरिकता प्रमाणपत्र
३) नेपालको नागरिकता त्याग गरेको प्रमाण– नेपाली नागरिकताको प्रमाणपत्र
४) विदेशी मुलुकको नागरिकता वा नागरिक भएको प्रमाण
५) सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोवास गरेको प्रमाण
६) हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि
७) अनुसूची ८ घ बमोजिमको प्रतिबद्धता पत्र र अनुसूची ८ च बमोजिमको शपथ
८) प्रहरीको स्थलगत सर्जमिन मुचुल्का समेत कार्यालयले थप बुझ्न आवश्यक ठानेका अन्य कागजातहरु
९) गैरआवासीय नेपाली नागरिकताको प्रमाण पत्र जारी गर्ने सन्दर्भमा गृह मन्त्रालयबाट सिस्टम अपडेट गर्ने कार्य भइरहेकोले उक्त कार्य सम्पन्न गरी निर्देशन प्राप्त भएपछि नागरिकताको प्रमाण पत्र जारी गर्ने कार्य प्रारम्भ हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।