काठमाडौं– ब्रेक प्याडको रुपमा भित्र्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास समेत भइसकेको अवस्थामा बरामद ६० किलो बढी सुन तस्करीका प्रतिवादीको आज (मंगलबार) पनि अदालती बयान हुने भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सुन तस्करीको मुद्दामा सोमबारदेखि अदालती बयान सुरु भएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा सोमबार १ जना प्रतिवादीको बयान भएको थियो। मंगलबार ४ जनाको बयान लिने तयारी रहेको जिल्ला अदालत काठमाडौंका रजिष्ट्रार कौशलेश्वर ज्ञवालीले जानकारी दिए।
जिल्ला सरकारी वकिल कार्यालयले २९ जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको थियो। प्रतिवादी बनाइएकामध्ये २६ जनालाई अभियोगपत्रसँगै अदालतमा पेस गरिएको थियो।
१ जनाको सोमबार नै बयान भइसकेका कारण अब २५ जनाको बयान लिन बाँकी छ। मंगलबार ४ जनाको बयान सक्दा २१ जना बाँकी रहनेछन्। अदालतले २ साताभित्र सबैको बयान लिइसक्ने तयारी गरेको छ।
अदालती बयान सकिएपछि थुनछेकको प्रक्रिया अगाडि बढ्नेछ। थुनछेक बहस सकिएपछि अदालतले प्रतिवादीहरुलाई साधारण तारेख, धरौटी वा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्नेबारे आदेश सुनाउनेछ।
क्याथे प्यासिफिक एयरलाइन्समार्फत् मोटरसाइकलको ब्रेक प्याडको रुपमा भित्रिएको तस्करीको सुन साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सिनामंगलबाट बरामद गरेको थियो। ब्रेक प्याडको रुपमा रहँदा झन्डै १५० किलो रहेको भनिएको सुन पछि राष्ट्र बैंकले गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो।
सुरुमा राजस्व अनुसन्धान विभागले तस्करीबारे अनुसन्धान गरेकोमा पछि सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको थियो। सीआईबीले करिब ४० दिन लगाएर अनुसन्धान गरेर सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
सीआईबीको अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलले सुन तस्करी प्रकरणमा संगठित अपराधसहित ४ वटा कानुनअन्तर्गतका कसुरमा सजाय मागदाबी गरेको छ। भन्सार ऐन २०६४, संगठित अपराध ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५(१) र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३५ अनुसार थप सजाय हुनुपर्ने दाबी गरिएको छ।
सीआईबीले गरेको अनुसन्धानले तस्करको समूहले ६० किलो ७१६ ग्राम सुन तस्करी गर्न अगाडि पनि धेरैपटक सुन तस्करी गरेको देखिएको निष्कर्ष निकालेको थियो। सुन तस्करीबाट आर्जन भएको रकम १४ जनाको बैंक खातामा जम्मा गरेको पाइएको काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ।
साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको बाहिरबाट बरामद भएको सुन रेडी ट्रेड प्रालिका नाममा ब्रेक प्याडका रुपमा भित्र्याइएको थियो। सुन तस्करीका लागि रेडी ट्रेड बाहेक अन्य ६ वटा कम्पनी पनि खोलेको पाइएको अभियोगपत्रमा दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।